दफा १७
संघीय संसद सेवाकोपदपूर्ति
 (१) संघीय संसद सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा दफा २६ बमोजिम र देहायको पद देहाय बमोजिम पूर्ति गरिनेछः–  
पद  
खुल्ला प्रतियोगिताद्वारा बढुवाद्वारा कार्यक्षमताको मूल्याङ्कनद्वारा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा कार्यसम्पादन तथा अनुभवको मूल्याङ्कनबाट हुने बढुवाको समायोजनद्वारा (क)  श्रेणीविहीन÷ राजपत्र अनङ्कित पाँचौ श्रैणी – – – – (ख) राजपत्र अनङ्कित चतुर्थ श्रेणी – – – – (ग)  राजपत्रअनङ्कित तृतीय श्रेणी – – – – (घ)  राजपत्र अनङ्कित द्वितीय श्रेणी ६०% २०% २०% – (ङ)  राजपत्र अनङ्कित प्रथम श्रेणी ६०% २०% – २०% (च)  राजपत्राङ्कित तृतीय श्रेणी ७०% १०% १०% १०% (छ)  राजपत्राङ्कित द्वितीय श्रेणी १०% ६०% २०% १०% (ज)  राजपत्राङ्कित प्रथम श्रेणी १०% ६०% २०% १०% (२) उपदफा (१) को खण्ड (ग) मा जुनसुकै कुरा लेखिएको भए तापनि राजपत्र अनङ्कित तृतीय श्रेणीको पदमा कुनै कर्मचारी बहाल नरहेमा त्यस्तो पद स्वतः खारेज हुनेछ । राजपत्र अनङ्कित तृतीय श्रेणीको पदमा कार्यरत कर्मचारीको बढुवा हुने पदको लागि आवश्यक पर्ने सेवा अवधि र बढुवा हुने पदको श्रेणीभन्दा एक श्रेणी मुनिको लागि तोकिए बमोजिमको शैक्षिक योग्यता पुगेको भएमा निजलाई एक श्रेणी माथिको पदमा बढुवा गरिनेछ । यसरी बढुवा गर्नको लागि माथिल्लो श्रेणीको पद स्वतः सृजना हुनेछ र निज माथिल्लो पदमा बढुवा हुनुभन्दा अगाडि निज बहाल रहेको पद स्वतः खारेज भएको मानिनेछ ।
(३) मुख्य कार्य गर्ने र सहायक कार्यहरु गर्ने श्रेणीविहीन/ राजपत्र अनङ्कित पाँचौं श्रेणीका पदहरु प्रचलित निजामती सेवा ऐन वा सो ऐन अन्तर्गत तोकिए अनुरुप हुनेछन् ।
(४) यो दफा प्रारम्भ हुँदाका बखत रिक्त रहेका र यो दफा प्रारम्भ भएपछि रिक्त हुने उपदफा (३) बमोजिम तोकिएको सहायक कार्यहरु गर्ने श्रेणीविहीन/ राजपत्र  अनङ्कित पाँचौं श्रेणीका पदहरु स्वतः खारेज हुनेछन् । सचिवालयले यस्ता पदहरु खारेज भएको जानकारी निजामती किताबखानामा पठाउनु पर्नेछ । त्यस्ता पदहरुबाट सम्पादन गरिने कार्य न्यूनतम पारिश्रमिक तोकि व्यक्ति वा संस्थासँग करार गरी सेवा करारबाट सम्पादन गराउनु पर्नेछ ।
(५) उपदफा (१) को खण्ड (घ) बमोजिमको आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने पदमा राजपत्र अनङ्कित द्वितीय श्रेणीको पदको लागि आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता र न्यूनतम सेवा अवधि पूरा गरेको राजपत्र अनङ्कित तृतीय र सोभन्दा मुनिका जुनसुकै पदमा (श्रेणीविहीन पद समेत) कार्यरत कर्मचारीबाट प्रतिस्पर्धा गराई पदपूर्ति गर्नु पर्नेछ ।
(६) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि व्यवस्थापिका–संसद सेवालाई समावेशी बनाउन खुल्ला प्रतियोगिताद्वारा पूर्ति हुने पदमध्ये पैंतालीस प्रतिशत पद छुट्याई सो प्रतिशतलाई शत प्रतिशत मानी देहाय बमोजिमका उम्मेदवारबीचमा मात्र छुट्टाछुट्टै प्रतिस्पर्धा गराई पदपूर्ति गरिनेछः–
(क) महिला तेत्तीस प्रतिशत
(ख) आदिवासी/जनजाति सत्ताईस प्रतिशत
(ग) मधेसी बाईस प्रतिशत
(घ) दलित नौ प्रतिशत
(ङ) अपाङ्ग पाँच प्रतिशत
(च) पिछडिएको क्षेत्र चार प्रतिशत
स्पष्टीकरणः
(१) यस उपदफाको प्रयोजनका लागि “पिछडिएको क्षेत्र” भन्नाले अछाम, कालिकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ्ग, बाजुरा, मुगु र हुम्ला जिल्ला सम्झनु पर्छ ।
(२) यस उपदफाको खण्ड (क), (ख), (ग) र (घ) को प्रयोजनको लागि “महिला”, “आदिवासी, जनजाति”, “मधेसी” र “दलित” भन्नाले आर्थिक र सामाजिक रुपमा पछाडि परेको महिला, आदिवासी,  जनजाति, मधेसी र दलितलाई सम्झनु पर्छ ।
(७) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (६) को खण्ड (ङ) बमोजिम निर्धारित प्रतिशतको पद कुनै खास प्रकृतिको कामको लागि तोकिए बमोजिमको अपाङ्गहरुबीच मात्र प्रतिस्पर्धा गर्न पाउने गरी प्रतिस्पर्धात्मक परीक्षाद्वारा पदपूर्ति गरिनेछ ।
(८) उपदफा (६) बमोजिम प्रतिशत निर्धारण गर्दा एक प्रतिशतभन्दा कम घताङ्क (फ्याक्शन) आएमा त्यस्तो घताङ्क जुन समूहको हकमा घताङ्क आएको हो सोभन्दा लगत्तै पछिको समूहमा सर्दै जानेछ ।
(९) उपदफा (६) बमोजिम छुट्याइएको पदमा जुन वर्षको लागि विज्ञापन भएको हो सो वर्ष हुने विज्ञापनमा उपयुक्त उम्मेदवार उपलब्ध हुन नसकेमा त्यस्तो पद अर्को वर्ष हुने विज्ञापनमा समावेश गर्नु पर्नेछ र त्यसरी विज्ञापन गर्दा पनि उपयुक्त उम्मेदवार उपलब्ध हुन नसकेमा त्यस्तो पद सोही वर्ष खुल्ला प्रतियोगिताद्वारा पूर्ति हुने पदमा समावेश गर्नु पर्नेछ ।
(१०) उपदफा (६) बमोजिम निर्धारण गरिएको प्रतिशतद्वारा पदपूर्ति गर्ने व्यवस्था प्रत्येक दश वर्षमा पुनरावलोकन गर्नु पर्नेछ ।
(११) उपदफा (६) बमोजिमको प्रतिशत बमोजिम पद संख्या निर्धारण गर्दा कुनै विवाद आएमा लोकसेवा आयोगको निर्णय अन्तिम हुनेछ ।
(१२) उपदफा (१) बमोजिम कार्यसम्पादन तथा अनुभवको मूल्याङ्कनद्वारा हुने बढुवाको समायोजनद्वारा पूर्ति हुने पदहरु दफा ३५ बमोजिम बढुवा हुने कर्मचारीहरुबाट ज्येष्ठताको आधारमा समायोजन गरिनेछ ।
(१३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (१) को खण्ड (छ) र (ज) बमोजिम खुल्ला प्रतियोगिताद्वारा पूर्ति गरिने राजपत्राङ्कित द्वितीय र प्रथम श्रेणीको पदको लागि चाहिने न्यूनतम योग्यता सम्बन्धित विषयमा स्नातकोत्तर उपाधी प्राप्त गरेको र कुनै सरकारी सेवा वा प्रचलित कानून बमोजिम दर्ता भएको सङ्गठित संस्था वा अन्तर्राष्ट्रिय संघ, संस्थाको अधिकृत स्तरको पदमा राजपत्राङ्कित द्वितीय श्रेणीको पदको हकमा पाँच वर्ष र राजपत्राङ्कित प्रथम श्रेणीको पदको हकमा सात वर्षको अनुभव प्राप्त गरेको हुनु पर्नेछ ।
तर विद्यावारिधि स्तरको उपाधी प्राप्त गरेको व्यक्तिको हकमा अनुभवको अवधि दुई वर्षले कम हुनेछ ।
(१४) व्यवस्थापिका–संसद सेवाको पदपूर्ति सम्बन्धी अन्य व्यवस्था र विशेषज्ञ पदहरुको पूर्ति सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।